साउन २९,काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक बनेको दाबी गरिएको छ । आठ दिनपछि संवादहीनता तोड्दै भेटवार्ता गरेका दुबै अध्यक्षले पार्टीको पछिल्लो विवाद सुल्झाउने गरी सकारात्मक छलफल गरेको दाबी दाहालको सचिवालयले गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भएको चार घण्टा लामो संवाद सकारात्मक भएकाले शुक्रबार फेरि बस्ने गरी नेताहरु उठेका हुन् । महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायतका विषयमा छलफल भएको बताइएको छ ।



ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्नुपर्ने अडानमा दाहाल–माधव नेपाल पक्ष उभिएपछि पछिल्लो समय दुई नेताबीच संवाद नै हुन सकेको थिएन ।
प्रधानमन्त्री ओलीको राजीनामाका विषयमा नेकपाभित्र पछिल्लो ६ महिनायता अन्तरद्वन्द्व चर्किँदा सरकारको काम प्रभावहीन भएको छ भने पार्टी कुनै पनि दिन फुट्न सक्ने अवस्थामा पुगेको छ ।
छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी हुनुभयो ।
यसअघि बुधबार मात्र प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दाबी गर्नुभएको थियो । ओली र दाहालबीच साउन २० मा बालुवाटारमा छलफल भएयता कुनै संवाद हुन सकेको छैन । तर दोस्रा तहका नेता भने संवाद खुलाउने प्रयासमा लागिरहेका थिए ।
नेकपामा ओलीको कार्यशैली र आचरणका कारण पार्टी र सरकारको साख गिरेको भन्दै दाहाल–माधव नेपालसहितका नेताहरु ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने पक्षमा उभिँदा ओलीले कुनै हालतमा पद नत्याग्ने अडान राख्नुभएको छ । उहाँले बहुमतले कार्वाही गरेर देखाउन चुनौती दिइरहनु भएको छ । ओलीमाथि निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएको अरोपसमेत दाहाल–नेपाल पक्षले लगाएका छन् ।
असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि ओलीले दाहाललाई सोध्दै नसोधी बैठक नै स्थगित गर्दिनुभएको थियो ।स्थगित स्थायी कमिटी नचलाउने पक्ष ओली उभिँदा अरु नेता बैठक चलाएर समाधान खोज्नुपर्ने पक्षमा छन् ।अर्कातिर एक सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक राख्न लिखित रुपमा माग नै गरेका छन् ।








