
भदौ २ ,काठमाडौं ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।
उनको मंगलबार काठमाडौंको लैनचौरस्थित निवासमै निधन भएको हो। राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीव घिमिरेले बताएका छन्।
वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गरेका थिए। छोरा राजीव घिमिरेका अनुसार उनको १०१ वर्षमा निधन भएको हो। घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए।



उनले बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका थिए। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कविता सङ्ग्रह सङ्कलित छन्।
उनलाई ‘राष्ट कवि’ को उपाधिले सम्मान गरिएको थियो। १४ वर्षको उमेरमा ज्ञान पुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जना थालेका थिए।








