भदौ ५,पाल्पा ।
छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण दर बढ्दै गएपछि पाल्पामा पनि शुक्रबार मध्यरातिदेखि भदौ १२ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।
विहिबार साँझा बसेको जिल्ला स्तरीय सर्वपक्षिय बैंठकबाट संक्रमण रोक्न निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताए ।



अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालन गर्न पाइने छैन ।
एम्बुलेन्स, शववाहन, खाद्यसामग्री बाहक सवारी साधन, औषधी बोकेका सवारी साधन, कुखुराको चल्ला, पशुपंक्षीको दाना बोकेका सवारी साधन, पानी, दूध, पेट्रोल ट्यांकर, फलफूल तथा तरकारी बोकेका सवारी साधन, झण्डाबाहक सवारी साधन, कुटनीतिक नियोगको सवारी साधनहरु चलाउन पाउने छ भने, सार्वजनिक यातायातका साधनहरु वस, ट्याक्सी, जीप लगायतका तथा निजी सवारी साधन (चार पाङ्ग्रे, दुई पाङ्ग्रे) सवारी साधनहरु चलाउन रोक लगाइएको छ ।
त्यस्तै अत्यावश्यक सरकारी सेवा (स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी आदि), एटिएम काउन्टर जस्ता सेवाहरु खोल्न पाइने जनाइएको छ । बैंठकले अत्यावश्यक बाहेकका नियमित सेवा, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने बाह्य सेवाहरु,सामाजिक संघसस्थाका कार्यलयहरु खोल्न रोक लगाएको छ ।
त्यस्तै औषधी तथा औषधीजन्य पसल, खाद्यान्न सम्बन्धी पसल, फलफूल, तरकारी दूध (डेरी पसल (विहान ७ ः०० बजेदेखि १०ः०० बजेसम्म)ं ,पेट्रोल पम्प, ग्यास डिपो आदि व्यवायहरु खुल्न पाउने छन् भने,रेस्टुरेण्ट, ब्युटी पार्लर, कपड़ा पसल, शैलुन, जिमखाना, हार्डवेयर पसल, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल र उद्योग कलकारखाना खोल्नमा रोक लगाइएको छ ।
आदेशको अवज्ञा गरेको र गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रजिअ न्यौपानेमार्फत जारी सूचनामा जनाइएको छ । सर्वसाधरणले स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाउनुको सट्टा उल्लंघन गर्ने प्रवृत्ति बढेपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।








