काठमाडौं ।
नोभेल कोरोना भाइरसका संक्रमित ७४३ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिएका हुन् । जसमा २४६ महिला र ४९७ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १७५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार ८०६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ ।



पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २३४ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख १० हजार ४६९ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार १५४ जना र होम आइसोलेसनमा ४ हजार ५६१ रहेका छन् । आजसम्म देशभर ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३८ जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ५७ रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
शनिबार देशभर ११ हजार ५१९ जनाको पीसीआर परीक्षणका क्रममा ६३४ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी यस अवधिमा १३६ जना डिस्चार्ज भएका थिए भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
आइतबार गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८३८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने २८१ जना संक्रमणमुक्त भएका थिए । आइतबार कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।








