
काठमाडौं ।
घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीच अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ । साउथह्याम्पटनको द रोज बलमा टेस्टको अन्तिम दिन पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएरपछि खेल बराबरीमा सकिएको हो ।
अन्तिम टेस्ट बराबरीमा सकिएपनि तीन खेलको सिरिज इंग्ल्यान्डले १–० ले जितेको छ ।पहिलो टेस्ट इंग्ल्यान्डले जितेको थियो भने दोस्रो टेस्ट बराबरीमा सकिएको थियो ।इंग्ल्यान्डविरुद्ध फलो अनमा परेको पाकिस्तानलाई बाबर आजमले अर्धशतकीय इनिङ्स खेल्दै हारबाट जोगाए ।



दोस्रो इनिङ्समा आजमले अविजित रहदै ६३ रन बनाए । यस्तै अबिद अलीले ४२ रन बनाउदा अजहर अलीले ३१ रन जोडे ।इंग्ल्यान्डका जेम्स एन्डरसनले २ विकेट लिए । यससँगै उनले टेस्ट क्रिकेटमा ६०० विकेट पुरा गरे । टेस्ट क्रिकेटमा ६ सय विकेट पुरा गर्ने एन्डरसन पहिलो फास्ट बलर हुन् ।
पहिलो इनिङ्समा २ सय ७३ रन जोड्दा अल आउट भएपछि पाकिस्तान फलो अनमा परेको थियो ।अजहर अलीले अविजित रहदै १ सय ४१ रनको शतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डले पाकिस्तानलाई फलो अनमा पठाएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले उच्च स्कोर बनाएको थियो । क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले ।
टेस्टमा क्रोलीको यो पहिलो दोहोरो शतक हो । यस्तै जोस बट्लरले १ सय ५२ रनको शतकीय इनिङ्स खेलेका थिए ।त्यसबाहेक इंग्ल्यान्डका क्रिस वोक्सले ४० रन जोड्दा डम बेस २७ रनमा अविजित रहे ।कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए । पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २/२ विकेट लिएका थिए








