
भदौ १३, गुल्मी ।
कोरोना परीक्षण गरेको रिपोर्ट नलिई गुल्मी जानेहरूले अब १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। जिल्ला बाहिरबाट गुल्मी भित्रिनेहरूका लागि अनिवार्य पीसीआर रिपोर्ट चाहिने भएको हो।
शुक्रबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको जिल्ला कोरोना रोकथाम तथा संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।



कोरोना भाइरस संक्रमण जोखिम कम गर्न जिल्ला भित्रिने सीमा नाकाहरू रुरुक्षेत्र गाउँपालिकाको रिडी, कालीगण्डकी गाउँपालिकाको हर्मीचौर, पुर्तीघाट, मुसिकोट नगरपालिकाको वामी, रेसुंगा नगरपालिका कोनेटा, मदानेको सौतामारे लगायतका स्थानहरूमा सुरक्षाकर्मीहरू परिचालन गरी कडाई गरिएको शर्माले जानकारी दिए।
जिल्लामा लुकीछिपी आउने र क्वारेन्टाइनबाट भाग्नेलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
यस्तै, दुग्ध व्यवसाय बिहान नौ बजेदेखि ९ बजेदेखि, साँझ ६ सम्म, मासु, तरकारी र फलफूल पसलहरू बिहान ७ देखि साँझ ५ बजेसम्म, अन्य पसल उद्योगहरू बिहान १० देखि साँझ ५ बजेसम्म संचालनमा रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
यस्तै सरकारी कार्यालय बैंक वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीहरू मात्र राखेर कार्य सम्पादन गर्ने निर्णय समेत बैठकले गरेको छ। यो निर्णय शुक्रबार राती १२ बजेदेखि भदौ १९ गतेसम्म लागू हुनेछ। कसैले प्रशासनको निर्णय अवज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको सूचना :










