
बुटवल ।
भैरहवाको भीम अस्पतालमा सोमबारदेखि आईसीयू बेड सञ्चालनमा आएको छ ।
प्रदेश सरकारले कोरोना विशेष अस्पताल घोषणा गरेको यो अस्पतालमा आईसीयू वेड भए पनि जनशक्ति अभावमा पाँच महिनादेखि सञ्चालनमा थिएन ।युनिभर्सल मेडिकल कलेजले एनेस्थेसियाको जनशक्ति पठाएपछि आईसीयू वेड सञ्चालनमा ल्याइएको हो ।



सोमबारदेखि अस्पतालमा सिकिस्त भएका कोरोना संक्रमितको उपचारका लागि ५ वटा बेडसहितको आइसीयू सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए।
उनका अनुसार आइसीयूमा ४ जना भर्ना भइसकेका छन्। जसमध्ये बुटवल ६ का ३ जना हुन् भने धकधईका १ जना हुन्। अस्पतालले आइसीयू बेड सञ्चालनमा ल्याएपनि जनशक्ति भने अभाव छ।
युनिभर्सल मेडिकल कलेजको सहयोगमा बिरामीलाई बेहोस बनाउने एनेस्थेसिया आएपनि कन्सल्ट्यान्ट फिजिसियन, मेडिकल अफिसर र नर्सिङका कर्मचारी अभाव छन्।
तत्कालका लागि अस्पतालले आन्तरिक जनशक्ति व्यवस्थापन गरेर आइसीयू सञ्चालन गर्ने पोखरेलले जनाए।
कोरोना संक्रमितलाई उपचारका लागि २२ वटा जनरल बेड छन् ।









