



सन्धिखर्क :
अर्घाखाँची जिल्लाका स्थानीय सरकारले करमा छुट दिने व्यवस्था गरेका छन् । कोरोनाका कारण आर्थिक अवस्थामा मन्दी आएपछि स्थानीय सरकारले यो निणय गरेका हुन् पाणिनि गाउँपालिकाले मालपोत कर बुझाउने समय तीन महिना थप गरेको छ । कोरोनाका कारण स्थानीयमा आर्थिक समस्या हुने देखिएकाले आर्थिक बर्ष २०७६÷७७ को मालपोत कर असार मसान्तसम्म तिर्नुपर्ने भएपनि तीन महिना अर्थात् असोज मसान्तसम्म बिलम्ब शुल्क नलिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले बताए । व्यवसाय, उद्योगधन्दा धेरै नभएकाले मालपोत कर तीन महिनापछि बुझाए पनि विलम्ब शुल्क नलिने निर्णय भएको उनको भनाइ छ । यस्तै गरि सन्धिखर्क नगरपालिकाले व्यवसाय कर, उद्योग व्यवसाय करमा १० प्रतिशत छुट दिएको सन्धिखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्ति खनालले बताए । विदेशबाट फर्किएर सन्धिखर्क नगरपालिकाभित्रमा कुनै उद्योग दर्ता गर्न चाहेमा त्यस्तो व्यक्तिलाई ५० प्रतिशत छुट दिने निर्णय भएको छ । कोरोनाका कारण सुपा देउराली मन्दिर बन्द भएपछि उक्त स्थानमा रहेका टंकीहरुलाई लकडाउन अबधीको भाडा मिनाहा गरेको छ । सटरहरुको अवस्था हेरी ५० प्रतिशत भाडा छुट गरेको सन्धिखर्क नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्तिराम खनालले बताए । शान्ति बगैचाका सटरलाई पनि सटरको प्रकृतिअनुसार लकडाउन अवधिको भाडामा ५० प्रतिशत छुट दिएको छ । यहाँका सटरले १० देखि ३० हजारसम्म मासिक भाडा तिर्दै आएका थिए । भूमिकास्थान नगरपालिकाले कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने भएकाले व्यवसाय करमा एक वर्ष अर्थात २०७६/७७ को शतप्रतिशत मिनाहा गरेको छ ।भूमिकास्थान नगरपालिकाले कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने भएकाले व्यवसाय करमा एक वर्ष अर्थात २०७६/७७ को शतप्रतिशत मिनाहा गरेको नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताए । सबै व्यवसायीहरुको व्यवसाय कोरोनाले चौपट पारेको निष्कर्ष निकाल्दै किराना, साना होटल तथा रेष्टुरेण्ट, कपडा पसललगायतका सबै व्यवसाय कर मिनाहा गरेको नगरपालिकाका उपप्रमुख खडानन्द वेलवासेले बताए ।स्थानीय सरकार बनेपछि अर्घाखाँची जिल्लामै सबैभन्दा महंगो कर लिइरहेको भुमिकास्थान नगरपालिकाले गएको बर्षदेखि करको दर ह्वात्तै घटाएको छ । नगरपालिकाले कर घटाएपछि स्थानीयहरु खुशी भएका छन् । नगरपालिकाका स्थानीय जनताले जिल्लाका सबै पालिकामा भन्दा बढी भएको भनेर गुनासो गरेपछि नगर कार्यपालिकाको चौथो नगर सभा बैठकले एक बर्षअघि औषतमा ६५ प्रतिशतसम्म कर घटाउने निर्णय गरेको हो ।
जन्म दर्ता र मृत्यु दर्ताको पाँच सय रुपैयाँ लिदै आएकोमा यसलाई घटाएर ८ रुपैयाँमा झारिएको छ । नेपालकै कानुनअनुसार ३५ दिनसम्म निशुल्क, ३५ दिनपछि जन्म दर्ता र मृत्यु दर्ताको लागि पाँच सय लिने गरिएकोमा ३५ देखि ७० दिनसम्म आएमा ८ रुपैयाँ र त्योभन्दा पछि आएमा ५० रुपैयाँ बनाइएको नगर उपप्रमुख खडानन्द वेल्वासेले बताए ।
नेपालकै कानुनमा लेखिएअनुसार ३५ दिनसम्म जन्म, मृत्यु, बसाइ सराइ, सम्बन्ध बिच्छेद र विवाह दर्ताको निशुल्क व्यवस्था भएपनि त्यसपछि भने दस्तुर हवात्तै बढाएका छन् । विवाह दर्ताका लागि यहाँका स्थानीय तहले एक सयदेखि पाँच सयसम्म सेवा शुल्क लिने निर्णय कार्यन्वयन गरिरहेका छन् ।एउटै जिल्लाका स्थानीय सरकार भएपनि एउटै सेवा, सिफारिसमा पनि फरक–फरक शुल्क लिने गरेका छन् ।
जिल्लाका सबै स्थानीय सरकारले अंग्रेजी भाषामा गरिने सिफरिस तथा प्रमाणितको पाँच सय देखि ६ सयसम्म लिने गरेका छन् । जन्म प्रमाणितको सबैभन्दा थोरै एक सय रुपैयाँ सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाको छ । धेरै शितगंगा नगरपालिकाको दुई सय रुपैयाँ छ ।तर, अंग्रेजी भाषाको लागि पाँच सयदेखि ६ सयसम्म तिर्नुपर्छ । शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका, पाणिनि गाउँपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकामा अंग्रेजी भाषाको सिफारिस तथा प्रमाणितको पाँच सय र सन्धिखर्क नगरपालिकाले ६ सय रुपैयाँ लिने गरेका छन् ।देशभरी नै स्थानीय सरकारले अंग्रेजी भाषाको सिफारिसको दस्तुर बढी लिने गरेका छन् । नेपाली भाषाको सिफारिस खासगरी नेपालको लागि र अंग्रेजी भाषा वैदेशिक प्रयोजनका लागि प्रयोग गरिने भएकाले दस्तुर महंगो भएको सरोकारवालाको भनाइ छ ।









