
भदाै २५,बुटवल ।
बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका विरामीहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ ।
नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका विरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनिहरुलाई केहि भएपनि आर्थिक राहत होस् भनी निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसंग सम्झौता गरी निःशुल्क रुपमा एक लाखको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको बताए ।



कोभिड १९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका विरामीहरुको मनोबल बढाउन सघाउ पुग्ने आलमले बताए । ‘विरामीहरुको कोरोना बीमा गरिदिंदा अस्पताललाई सामान्य आर्थिक भार थपिएपनि संक्रमण भईहाल्यो भने विरामीहरुको लागि भने त्यसले ठूलो राहत मिल्ने छ ।’ आलमले भने ।
सरकारले मिर्गौलाका विरामीहरुको डायलाईसिस निःशुल्क गरेपनि अन्य औषधी तथा बेलाबेलामा गर्नुपर्ने ल्याब परिक्षणलाई निःशुल्क गरेको छैन ।
अस्पतालले भने डायलाईसिस बाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाईरल टेष्ट समेत आफ्ना सबै विरामीहरुको निःशुल्क गर्दै आएको छ । त्यस्तै अति विपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोहि नभएका मिर्गौलाका विरामीहरुको औषधी तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।









