भदौं २७,पाल्पा ।
नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पनि कोरोना परीक्षण गरिने भएको छ । तानसेनमा परीक्षणका लागि पिसिआर मेसिन जडान कार्य अगाडि बढेकाले एक हप्ता भित्रमै परीक्षण हुने भएको हो ।
सदरमुकाम तानसेनको काजिपौवामा रहेको जिल्ला समन्वय समितिको भवनमा संक्रमण परीक्षण गर्ने प्रयोगशाला निर्माण भैरहेकाले आगामी हप्ता देखि परिक्षणको काम शुरु हुने पाल्पा अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेले जानकारी दिए ।



पाल्पा अस्पतालको मातहतमा रहने प्रयोगशाला निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा पिसिआर प्रविधिका सामग्री खरिद गरिएको छ ।
जिल्लाका १० स्थानीय तहको आर्थिक सहयोगमा एक करोड बढीको लागतमा भौतिक संरचना निर्माण कार्य सम्पन्न भएको छ । पिसिआर प्रविधिका सम्पूर्ण सामग्री पाल्पा आएको र प्रयोगशालाका लागि स्वास्थ्यकर्मी सहित ५ जना जनशक्तिसमेत तयारी अवस्थामा रहेको अध्यक्ष पाण्डेको भनाई छ ।
एक करोड बढीको लागतमा भौतिक संरचना निर्माण गर्ने काम भएको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले बताए । उनका अनुसार मेसिन जडानको काम अन्तिम चरणमा पुगेको छ । ‘भौतिक संरचना निर्माणको काम लगभग सकिएको छ,’ उनले भने ‘सरकारले तय गरेको स्वास्थ्य मापदण्ड अनुसार कोठाहरू निर्माण भएका छन् ।’ स्वाब परीक्षणको काम सुरक्षित हुने गरी यहाँका संरचना निर्माण गरिएको पाण्डेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
पाल्पामा स्थापना हुने प्रयोगशालाबाट छिमेकी जिल्ला गुल्मी , स्याङ्जा, अर्घाखाँची, पर्वत लगाएतका जिल्लावासीलाई सेवा लिन सहज हुने छ ।









