बुटवल ।
रुपन्देहीमा निषेधाज्ञाको अवधि असोज ४ गतेसम्मका लागि थप गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा आइतबार राती १२ बजेदेखि असोज ४ गतेसम्म निषेधाज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको आदेशमा जनाइएको छ।
सोमबारदेखि नै निजी सवारी साधन चलाउन स्थानीय प्रशासनले शर्तसहित अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार जारी गरेको आदेश अनुसार सोमबार बिहान ६ बजेदेखि जोर नम्बर हुने जोर बार र बिजोर नम्बर हुने निजी गाडी बिजोर बार चलाउन अनुमति दिएको छ ।



यातायात व्यवसायीले गाडी चलाउन पाउनुपर्ने माग गरेपनि रुपन्देही प्रशासनले यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाएको छ।
होटलहरुमा टेक अवेबाहेकका सेवा बन्द रहने जनाइएको छ। सभा गोष्ठी, तालिम, सेमिनार, पार्टीप्यालेस, सैलुन, समूहमा खेलिने खेलहरु पनि बन्द रहनेछन्। अति आवश्यक उपभोग्य वस्तु र सेवा, औषधिजन्य वस्तु र सेवा बाहेकका अन्य व्यापार व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ।
यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टरहरु, मठमन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका काम गर्न रोक लगाइएको छ।









