असोज १,काठमाडौं ।
कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन खुला गरिएको थिएन ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै खाले सार्वजनिक यातायात आजदेखि खुला गर्ने निर्णय गरेसँगै (लामो, मध्यम तथा छोटो दूरी)सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् । आज विश्वकर्मा दिवससमेत भएकाले ग्यारेज तथा गाडीमा विश्वकर्मा पूजा गरेर गाडी सञ्चालनमा आएका छन् ।



बुधवार एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ । चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।
यसैबिच, सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला गर्ने भने पनि वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने भएका छन् । आन्तरिक उडानको लागि जहाजका सिटमा पूरापूर यात्रु बोकेर उडान गर्न नपाउदा वायुसेवा कम्पनीलाई फाइदाको सट्टा घाटा हुने भन्दै वायुसेवा सञ्चालकहरूले उडान नगर्ने जनाएका छन् ।








