
असोज ८,बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. राजेन्द्र खनाल कोरोना संक्रमित भएका छन् ।
डा. खनालले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । आफूलाई ज्वरो आएको र सुख्खा खोकी लागेको उल्लेख गर्दै उनले होम आइसोलेशनमा बसेको जानकारी गराएका छन् ।



आफूलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने यकिन नभएकाले रनभुल्लमा परेको उल्लेख गर्दै उनले छिट्टै निको भएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।
आफूसँग पछिल्लो ४-५ दिनदेखि नजिक भएकाहरुमा लक्षण छन् भने अस्पतालको फिभर क्लिनिकमा आएर निःशुल्क पीसीआर टेस्ट गराउन र लक्षण नभएकाहरु ५-७ दिनको सेल्फ आइसोलेशनमा बसेर सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गर्न आग्रह गरेका छन् ।
‘शुभेच्छुकहरुले मलाई धेरै फोन नगरिदिनुहोला, किन भने मलाई सुख्खा खोकीले आक्रान्त पार्दैछ,मेसेज जति गरे पनि हुन्छ । तर सकारात्मक होस् जसले मलाई मनोबल उच्च पार्न सहयोग गर्नेछ, र म छिट्टै यहाँहरुको सेवामा हाजिर हुन पाऊं,’ लामो स्टाटस पोष्ट गरेका खनालले फेसबुकमा लेखेका छन् ।









