बुटवल ।
प्रदेश नम्बर ५ ले प्रदेशसभा स्थापनाको करिब ३२ महिना अर्थात ९ सय ६७ दिनपछि नाम र स्थायी राजधानी पाएको छ । प्रदेश सभा स्थापना भएको ३१ महिना २९ दिन अर्थात जम्मा ९६७ दिनपछि प्रदेश ५ का रुपमा रहेको प्रदेशले नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी टुंगो लगाएको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले मंगलबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी राखियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख पुर्णबहादुर घर्तीले मंगलबार प्रदेशसभामा सो प्रस्तावमा मत विभाजन गराइ दुई तिहाइबाट नाम र स्थायी राजधानी टुंगो लागेको घोषणा गरे ।



स्थायी राजधानी दुई तिहाइ र प्रदेशको नाम दुई तिहाइभन्दा बढी मतले पारित भएको छ । केहीसमय ढिलो भए पनि प्रदेशसभाले परिपक्व निर्णय गरेको भन्दै मत विभाजनमा सहभागी सबै सांसदहरुलाई सभामुख घर्तीले धन्यवाद दिए ।
सभामा सुरुमा प्रदेश राजधानी देउखुरी बनाउने प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो । सो प्रस्तावको पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत परेको थियो । कुल ८७ सदस्यीय प्रदेशसभामा प्रदेश केन्द्रको मतविभाजनमा ८२ सांसद सहभागी थिए ।
त्यस्तै, प्रदेशको नाम लुम्बिनीको पक्षमा प्रदेश केन्द्रको पक्षमा भन्दा धेरै मत परेको छ । प्रदेशको नाम लुम्बीनी राख्ने प्रस्तावको मतविभाजन हुँदा ८३ सांसद सहभागी थिए । जसमध्ये ७९ मत लुम्बिनीको पक्षमा र ४ मत विपक्षमा परेको थियो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव सभामा पेश गरेका थिए ।
मुख्यमन्त्री शंकर पोख्रेलले राजधानी देउखुरीले प्रदेशका १२ जिल्लाकै मनोविज्ञानलाई समेट्ने बताएका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने प्रदेशको नाम सिफारिस गर्दा सरकारले दुई तिहाइको दम्भ देखाएको भन्दै मुख्यमन्त्रीको आलोचना गरेको थियो ।
प्रदेशको नाम र स्थायी राजधानी तय भएसँगै प्रदेश सभाको संसद अधिवेशन पनि अन्त्य भएको छ । प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख घर्तीले मंगलबार राति १२ बजेबाट प्रदेश सभाको चालु अधिवेशन अन्त्य हुने घोषणा गरे ।
कांग्रेसका ५ सांसदले मानेन् पार्टी ह्विप:
०७४ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई प्रदेश ५ को अस्थायी राजधानी तोकेको थियो । कांग्रेस र जनता समाजवादी पार्टीका अधिकांश सांसदहरु रुपन्देही नै स्थायी राजधानी बनाउनुपर्ने पक्षमा थिए । कांग्रेस प्रदेश सभा संसदीय दलले त देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप नै जारी गरेको थियो । तर, ५ जना सांसदले पार्टी ह्विप उल्लंघन गरेका छन् । कांग्रेसका १९ सांसदमध्ये ५ जनाले पार्टी ह्विप उल्लंघन गर्दै स्वविवेक प्रयोग गरे ।
बर्दियाका सांसद भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, शंकर गिरी, डिल्ली चौधरी, अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गरेका हुन् । प्रदेशसभामा कुल ८७ सांसदमध्ये ६१ जना नेकपा र १९ कांग्रेस सांसद छन् । जसमध्ये प्रदेश केन्द्रको मतविभाजन हुँदा ८२ मत खसेको थियो । जसमध्ये देउखुरीको पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत मात्र परेको थियो ।
प्रदेश केन्द्रको विषयमा कांग्रेस केन्द्रीय समितिमा रहेका सो क्षेत्रका नेताहरु विभाजित देखिएका थिए । संघीय संसदमा कांग्रेसका प्रमुख सचेतक रहेका रुपन्देहीका बालकृष्ण खाँण र पूर्व सिञ्चाईमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य दिपक गिरी फरक कित्तामा उभिएका थिए ।









