
मकवानपुर बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गर्नुभयो । रंगशाला निर्माण तीव्र गतीमा भएको भन्दै खुशी व्यक्त गर्दै पौडेलले रंगशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिनुभयो । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उहाँको भनाइ छ ।रंगशाला निर्माणमा चुनौती धेरै रहेकाले जसरी पनि सफल बनाउनुपर्ने बताउँदै यो गौरवको आयोजना भएको बताउनुभयो । सरकारले सहयोग जारी राख्ने बताउदै उहाँले भन्नुभयो –‘आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झनु ।’
यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले पनि सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो । परिकल्पना अनुसार सफलताका लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छ्याएर अगाडि बढ्न सुझाव दिनुभयो ।
यसैगरी, फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिनुभयो । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर शुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरिरहेको कट्टेलले जानकारी दिनुभयो ।
सहयोगी मनहरुले सहयोग गरिरहेको भएपनि लकडाउनले परिस्थिति जटील बनाएको कट्टेलको भनाइ थियो । उहाँले भन्नुभयो–‘अवस्था समस्याजनक छ तरपनि काम गर्दैछौं, बजारमा ७ करोड तिर्न बाँकी छ । तरपनि हामीले हिम्मत हारेका छैनौं ।’











