
काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५ सय ७७ पीसीआर परीक्षण भएकोमा ३ हजार ५ सय ५६ जनामा संक्रमण देखिएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ।



मंगलबार काठमाडौँ उपत्यकामा मात्रै २ हजार १ सय २९ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ६३ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ भने ४ हजार ७ सय ९५ जना क्वारेन्टिनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर ३ सय ७ जना कोरोना संक्रमितको आइसियुमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार मंगलबार १ हजार ५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ।








