
बुटवल, असोज २७



रुपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय कृष्ण केसीको करेन्ट लागेर ज्यान गएको छ। नहरमा मोटर लगाएर बारी सिँचाइका लागि पानी तान्ने क्रममा उनलाई करेन्ट लाग्दा ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै, सिद्धार्थनगर नगरपालिका–६ दयापथ बस्ने ४० वर्षीय बिनोद मल्लाहलाई जीपले ठक्कर दिँदा ज्यान गएको छ। सिद्धार्थनगर–८ नारायणस्थान नजिकै भित्री सडक छेउमा ठेलामा फलफूल बेचिरहेका मल्लाहलाई लु।१ य ८ नम्बरको जीपले ठक्कर दिएको थियो। जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भिम अस्पतालमा उपचारका क्रममा ज्यान गएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।
यस्तै, बुटवल उपमहानगरपालिका ३ गोलपार्कस्थित सिद्धार्थ राजमार्गमा परिचय नखुलेका एक जना मृत अवस्थामा फेला परेका छन्।
अन्दाजी ३५ वर्षीय पुरूष मृत फेला परेको प्रहरीले बताएको छ। ती पुरूषको मृत्युको कारणबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको डिएसपी खड्काले जानकारी दिए ।









