
काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ।



पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बुधबार २ हजार १ सय ७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७५ पुगेको छ।बुधबारसम्म देशभर ३०५ जना संक्रमितको आइसियूमा र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधबार काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९९६, ललितपुरका ३०५ तथा भक्तपुरका १०२ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल प्रदेश १ मा ३९, प्रदेश २ मा १९, बागमती प्रदेशमा १६६, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ५३, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा ४ जनाको आईसीयुमा उपचार भइरहेको जानकारी दिए।
यसैगरी भन्टिलेटरमा भने प्रदेश १ मा ८, प्रदेश २ मा १, बागमती प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३ जनाको उपचार भइरहेको छ। यसअघि मंगलबारसम्म देशभर ३ सय ७ जना कोरोना संक्रमितको आइसियुमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो।
यस्तै सरकारले कोरोना बीमा गरेका नागरिकहरुको कोरोना परीक्षण शुल्क र उपचार खर्च नब्यहोर्ने निर्णय गरेको छ। सरकारले निःशुल्क उपचार गर्ने लक्षित समूह तोकेपनि उनीहरुको कोरोना बीमा भएको अवस्थामा उपचार खर्च नव्यहोर्ने जनाएको हो।








