
काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ।
बिहीबार काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १६९२, भक्तपुरका १३४, तथा ललितपुरका १०८ जनामा संक्रमण पुष्टि भएको हो।



मन्त्रालयले देशभर ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर, दाङ, बाँके र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जानकारी दिए।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ भने ४ हजार ८ सय २५ जना क्वारेन्टिनमा छन्।
मन्त्रालयका अनुसार बिहीबार ३ हजार ५ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ। पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय नजिक पुगको हो।
मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर ३ सय १४ जना कोरोना संक्रमितको आईसीयुमा र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।








