
काशिनाथ आचार्य २०७७, २७ कार्तिक



त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष सञ्चालन गरेको उप प्राध्यापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएपश्चात पुनस्एकपल्ट उच्च शिक्षाको गुणस्तरको बारेमा बहस सुरु भएको छ । विश्वविद्यालय स्तरमा भएको यो किसिमको जाँचमा माग भएको संख्यामा परीक्षार्थीहरु उत्तिर्ण नभएको धेरैले सजिलै विश्वास गर्दैनन्। शैक्षिक क्षेत्रमा विगत देखि भएको राजनीतिकरणले उच्च शिक्षाको गुणस्तरमा ह्रास आएको तितो सत्य हो । अहिले यहाँका विश्वविद्यालयमा उच्च शिक्षा हाँसिल गर्नुको सट्टा विद्यालय स्तरको शिक्षा पुरा गरेपछि उच्च शिक्षाको लागि विदेश पलायन हुने युवाहरुको संख्या समेत बढ्दै गएकोले विश्वविद्यालयहरूमा विद्यार्थी संख्या समेत कम छ । विद्यार्थीहरुलाई हाम्रा विश्व विद्यालयहरुले आकर्षण गर्न सकेनन भने भविष्यमा यो भन्दा उदेक लाग्दो नतिजा आउने देखिन्छ । यो नतिजा कमजोर देखिनुमा परीक्षार्थी मात्र नभइ स्वयम त्रि।वि। सेवा आयोगका पनि कमी कमजोरी देखिन्छन् ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७५ पौषमा गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी उप प्राध्यापक पदको आवेदन खुला गरेको थियो । अहिलेको समयमा समेत सूचना प्रविधिको प्रयोगबाट अनलाईन दरखास्त नभइ सेवा आयोगमा लाईन लागि फर्म भर्नु पर्ने र फर्म भर्दा सबै ओर्जिनल डोकुमेन्ट चाहिने व्यवस्था गरेको थियो । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय,बल्खुमा ओर्जिनल डोकुमेन्ट निकाल्न आवश्यक झन्झटिलो प्रकिया र त्यँहा कार्यरत अधिकांस कर्मचारीहरुको रुखो व्यवहारको सिकार भएर कतिपय योग्य व्यत्तिहरु परीक्षा फर्म नै भरेनन् । त्रिभुवन विश्व विद्यालय सेवा आयोगले पटक पटक परीक्षाको मिति सारेर २०७६ कार्तिकमा मात्र लिखित परीक्षा सञ्चालन गर्यो, त्यो समयसम्म त्रि। वि। सेवा आयोगमा फर्म भरेका केही योग्य व्यत्तिहरु लोक सेवा आयोगका अन्य परीक्षामा सफलता हाँसिल गरे भने केही विदेश समेत पलायन भएको कारणले समेत यो नतिजा देखिएको हो ।
त्रि.वि.सेवा आयोगको यो नतिजा देखिनुको प्रमुख कारण भनेको यसको विश्वसनीयता कम हुनु हो । त्रि.वि.सेवा आयोग कहिले खुल्ने भन्ने लोक सेवा आयोगको जस्तो निर्धारित वार्षिक कार्यतालिका नहुनुले पनि योग्य र सक्षम ब्यत्तिहरुको आकर्षणको केन्द्र बन्न सकेन । अर्को तर्फ विगतका त्रि।वि। सेवा आयोगका नतिजाहररुमा समेत प्रश्न उठ्ने गरेका थिए । पहुँचवालाहरुको नाम निस्केको सम्म समाचार विगतमा पत्रिकाहरुले ठुला अक्षरमा छाप्ने मात्र नभई घरमै उत्तरपुस्तिका पुर्याएर लेखिदिएको आरोपमा अत्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा समेत त्रि।वि।सेवा आयोगका केही नतिजाहरु परे । जसले गर्दा पहुँच नहुने योग्य तथा क्षमतावान व्यत्तिहरुले सेवा आयोगको फर्म भर्ने रुची देखाएनन् । जसको परिणामले यो नतिजा देखिएको हो ।
त्रि।वि। सेवा आयोगले यो विज्ञापन अघी उप प्राध्यापक पदको पाठ्यक्रम परिवर्तन गरी सेवा आयोगमा उतिर्ण हुन सवै विषयमा साठी प्रतिशत प्राप्ताङ ल्याउनु पर्ने व्यवस्था गरेको थियो । कतिपय सैद्धान्तिक विषयहरुमा लेखेर साठी प्रतिशत प्राप्ताङ हासिल गर्नु गाह्रो पनि छ । जसले गर्दा नतिजामा प्रत्यक्ष प्रभाव परेको हो ।
त्रि.वि.सेवा आयोगको यस पटकको नतिजामा आफुँलाई विगतमा लाग्ने गरेको आरोपबाट मुत्त हुन परीक्षामा अमर्यादित काम गर्ने धेरै परीक्षार्थीहरुको परीक्षाफल रद्ध गरेको छ जसले गर्दा यो नतिजामा पहुचवालाहरुको समेत केहि नलागेको जस्तो देखिन्छ । यो एउटा सकरात्मक पक्ष हो। आगामी दिनमा त्रि।वि। सेवा आयोगले वार्षिक कार्यतालिका प्रकाशित गरी सो कार्यतालिका अनुसार निष्पक्ष र पारदर्शी तवरले पदपुर्ती गर्न सक्ने हो भने विगतको लागेको कालो दाग समेत मेटिई यसको गरिमा बढी योग्य र क्षमतावानहरुको आकर्षण बढ्ने निश्चित छ ।
लेखक हाल सरकारी सेवामा कार्यरत छन् ।








