
काठमाडौं मसिर ११,
परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ । जनस्वास्थ्यविद् डा लक्ष्मी तामाङ स्थायी बन्ध्याकरण गर्दा नपुसङ्क हुने र कण्डम प्रयोग गर्दा सन्तुष्टि हुँदैन भन्ने भ्रमका कारण पुरुषको परिवार नियोजनमा सहभागिता कम भएको बताए । “पुरुषमा परिवार नियोजनका स्थायी र अस्थायी साधन प्रयोग गर्दा नकारात्मक कुरा बढी फैलाइएको छ ।परिवार नियोजनको स्थायी साधन मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । पुरुषमा स्थायी भ्यासेक्टोमी र अस्थायी कण्डम मात्र रहेको तथा महिलामा डिपोप्रोगेरा, इम्प्लाण्ट, पिल्स, कपर टी आइयुसिडी० अस्थायी र स्थायी मिनील्याप छ । पुरुषप्रधान मुलुक भएको र स्थायी बन्ध्याकरण गर्दा नकारात्मक सन्देश प्रवाह हुँदा पुरुषको सहभागिता कम हुने गरेको बताइएको छ । पुरुषले स्थायी बन्ध्याकरण नगर्दा बाध्य भएर महिलाले गर्नुपरेको बताइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखाका तथ्याङ्क अधिकृत पुष्कर बिजुक्छेका अनुसार विगत चार आर्थिक वर्षमा पुरुषका तुलनामा करीब तीनगुणा महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । सो चार आवमा भ्याक्सेटोमीमा १३ लाख नौ हजार ९५३ र मिनील्यापमा ४० लाख ४२ हजार ६९८ जना सहभागी भए । आव २०७५(७६ मा १० लाख एक हजार ८०६ महिलाले मिनील्याप र तीन लाख १६ हजार २६७ पुरुषले भ्याक्सेटोमी गराएका छन् ।











