
काठमाडौँ ।
नेपालको एकदिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले नेपाली सेनालाई थप सहयोगसँगै तालिम तथा उच्च तहको भ्रमणलाई प्राथमिकता दिने बताएका छन्।
बिहान करिब ११ बजे विशेष विमानमा आएका रक्षामन्त्री फेङ्हेले नेपाली सेनाको मुख्यालयमा करिब तीन घण्टा बिताएका थिए आपसी हितका विषयमा वार्ता गर्दै।



नेपाली सेनाद्वारा दिइएको ‘गार्ड अफ अनर’ स्वीकार गरेपछि भएको दुई पक्षीय वार्तामा रक्षा मन्त्रालय र नेपाली सेनाका उच्च अधिकृत तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि सामेल थिए। फेङ्हेले चिनियाँ र प्रधानसेनापति पूर्णचन्द थापाले नेपाली टोलीको नेतृत्व गरेका थिए।
सैनिक मुख्यालय जनसम्पर्क विभाग प्रमुख सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार कोभिड १९ महामारीका कारण स्थागित सगरमाथामैत्री दुई पक्षिय सैन्य अभ्यास र सैन्य विद्यार्थीहरुको तालिम छिट्टै, सम्भवतः २०२१ मै पुनः प्रारम्भ गर्न समझदारी भएको छ।
यो भ्रमणबाट चीन र नेपाली सेनाबीच विस्तार भइरहेको सम्बन्ध अझ सुदृढ हुने आशा नेपाली सेनाले व्यक्त गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
रक्षामन्त्री फेङ्हेले आफ्नो सात घण्टा लामो यात्राका अन्तिम डेढ घण्टा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीसँगको भेटघाटमा बिताएका छन्।
राष्ट्रपति सी जीनफीङको गत वर्ष अक्टोबरको राजकीय भ्रमणपछिको यो उच्चतम् तहको यात्रा हो, जसलाई ‘वर्किङ भिजिट’का रुपमा उल्लेख गरिएको थियो।
त्रिभुवन विमानस्थलमा उनलाई गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरेका थिए।
चिनियाँ रक्षामन्त्रीले दुई मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखबीच भएको समझदारी कार्यान्यवनका सिलसिलामा आफू नेपाल आएको, र त्योसँगै दुई मुलुकबीचको सैन्य सहयोगमा अभिबृद्धि गर्ने उद्देश्य पनि यो यात्राको भएको विमानस्थलमा बताएका थिए।
संयोग, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाको यात्राको दुई दिनपछि यो यात्रा भएपनि दक्षिण एसियाली क्षेत्रमा भारत–अमेरिका सामरिक साझेदारी बढेको बेला सम्पन्न चिनियाँ रक्षामन्त्रीको यो यात्राले अन्तर्राष्ट्रिय चासोसमेत आकर्षण गरेको छ।
नेपाल र चीनबीच करिब तीन वर्षअघि सम्पन्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ समझदारीपछि नेपालले कुनै परियोजना कार्यान्वयनका लागि अगाडि नसारेको र ५० करोड डलरको मिलिनियम च्यालेन्ज कम्प्याक्टको अमेरिकी परियोजनाको अनुमोदनको तयारी पनि चिनियाँ चासोको विषय बनेको छ।
नेपाल कम्युनिष्ट पार्टीसँग घनिष्ठता बढाउन चीन सफल भए पनि पार्टीभित्र देखिएको अन्तरकलहले चीनले स्थायीत्त्वको प्रतीक मानिएको नेपाली सेनासँग सम्बन्ध थप प्रगाढ बनाउने कोशिश गरेको बुझिएको छ।
रक्षामन्त्री फेङ्हे बेलुका यहाँबाट पूर्वनिर्धारित गन्तव्य बंगलादेशतर्फ प्रस्थान गरेका थिए।








