
काठमाडौं ।
नेपाल–भारतबीच व्यापार तथा पारवहन सन्धी पुनरावलोकन गर्ने सहमति भएको छ । यस्तै रेलसेवा सम्झौता पनि संशोधन गर्न दुबै देश सहमत भएका छन् । नेपाल भारत वाणिज्य सचिवस्तरीय व्यापार तथा लगानी सहजीकरण सम्बन्धी संयन्त्र (आईजीसी) वेभिनारमार्फत भएको बैठकमा यस्तो सहमति भएको हो ।
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले नेपाल भारतबीचको व्यापार र पारवहन सन्धी पुनरावलोकन गर्ने सहमति भएको बताए । रेलसेवा सम्झौता संशोधन गर्न पनि सहमति भएको तर कहिलेसम्म संशोधन गरिसक्ने भन्ने नभएको उनले बताए ।



यस्तै नेपाल र भारतको सिमानामा रहेका व्यापारसँग सम्बन्धित पूर्वाधार विकासमा भारत सकारात्मक देखिएको छ । प्रवक्ता रेग्मीका अनुसार दुबै देशका निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी संयुक्त विजनेस फोरम गठन गर्न अर्को महिना बैठक गर्ने सहमति भएको छ ।
बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेन्डामा भएका प्रगतिबारे समीक्षा गरिएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले गरेका थिए भने भारतको तर्फबाट वाणिज्य सचिव डा. गुरुप्रसाद मोहपात्रले गरेका थिए ।








