
प्रेमनारायण आचार्य, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० मा महिलाहरुको आयआर्जनमा बृद्धि गर्न तीन दिने अचार बनाउने तालिम सञ्चालन गरिएको छ ।उत्पादन बिना आर्थिक समृद्धि नहुने भएपछि स्थानीय स्तरमा उत्पादन हुने बस्तुको प्रयोग गरी अचार बनाउन र त्यही अचार बनाएर बिक्री गरी आम्दानी बृद्धि गर्न सकुन भन्ने उदेश्यका साथ अचार बनाउने तालिम सञ्चालन गरिएको हो ।सन्धिखर्क नगरपालिका वडा नम्वर १० को आर्थिक सहयोगमा महिला सञ्जाल अर्घाखाँचीले तीन दिने अचार बनाउने तालिमको आयोजना गरेको हो । उत्पादन बिना आर्थिक समृद्धि नहुने भएपछि महिलाहरुलाई उद्यमी बनाउन तालिमको आयोजना गरेको महिला सञ्जालकी अध्यक्ष मिश्रा आचार्यले बताउनु भयो ।झण्डै ३० जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण सफल महिला उद्यमी रुक्मिणा पराजुलीले गर्नु भएको छ । अर्घाखाँचीको सन्धिखर्क लगायतका गाउँगाउँमा तराई तथा भारतबाट आएको अचार खपत हुने गरेको छ ।
तालिमको उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिका वडा नम्वर १० का वडा सदस्य चमकला भुसाल, शान्ता नेपाली, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्दै तालिम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
उद्धाटन कार्यक्रम महिला सञ्जालकी अध्यक्ष मिश्रा आचार्यको अध्यक्षता, कमला पराजुलीको सञ्चालन र रमा आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।












