
काठमाडौं ।
दुईदिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सिफारिस गरेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको अध्ययन समितिले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै दुईदिन बिदा दिन सिफारिस गरेको हो ।
दुई दिन सार्वजनिक बिदा दिँदा कर्मचारी, कार्यालय तथा संस्थानहरुको उत्पादकत्व बृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रबद्र्धनमा सहयोग हुने अध्ययन समितिको निष्कर्ष छ ।



यस्तै सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामिप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले समेत सकारात्मक प्रभाव पर्ने प्रतिवेदनमा औंल्याइएको छ ।
सार्वजनिक निकायहरुमा हप्तामा दुईदिन बिदा दिन र निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न मनासिव हुने समितिको ठहर छ ।
मन्त्रालयले कोडिभ–१९ ले पर्यटन उद्योग शिथिल भएको र तत्काल विदेशी पर्यटक आएर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिहाल्ने अवस्था नरहेको भन्दै दुईदिन सार्वजनिक बिदा दिन प्रारम्भिक सिफारिस गरेको हो । समितिका संयोजक समेत रहेका मन्त्रालयका सहसचिव कलम प्रसाद भट्टराईले सार्क मुलुकसहित अन्य देशहरुको प्रचलनलाई समेत हेरेर यस्तो सिफारिस गरिएको बताए । उनले ८५ प्रतिशतभन्दा बढी मुलुकले सातामा २ दिन बिदा दिने गरेको बताए ।
अध्ययन गर्दा विगतदेखि नै नेपालमा बिदाको किसिम, अन्तर्राष्ट्रिय अभ्यास, हप्तामा ४० घण्टा काम गर्ने भन्ने अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डलाई आधार मानिएको उनले बताए ।
पर्यटन मन्त्रालयले अध्ययन गर्नुको कारण पर्यटन क्षेत्र प्रायः शिथिल भएको र तत्काल विदेशी पर्यटक आएर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिहाल्ने अवस्था नदेखिएकाले आन्तरिक पर्यटन प्रबद्र्धन गर्न दुई दिन बिदा दिनु उपयुक्त हुने देखिएको भट्टराईले बताए ।सरोकारवालाहरुको सुझावको आधारमा अर्को प्रतिवेदन बनाइने उनले बताए ।








