
काठमाडौं ।
आज बालाचतुर्दशी पर्व, हिन्दु धर्मवलम्बीले देशभरका विभिन्न शिवालयमा बिहान सतबीज छरेर मनाइँदै छ। मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन हिजो बेलुकी दीपदान गरी रातभर जाग्राम बसेर आज बिहान पशुपतिनाथ लगायत देशभरका शिवालयमा सतबीज छर्ने परम्परा छ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।



बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने हुँदा कोरोना संक्रमण फैलने डरले यसवर्ष पशुपति परिसरमा वत्ती बाल्न नदिइएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए।
दूरी कायम गरी आज बिहान शतबीज छर्न भने दिइएको कोषले जनाएको छ। आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनोलाई सतबिजका रुपमा छर्ने गरिन्छ।
भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने जनविश्वास छ।








