
काठमाडौं ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ।



प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि त्यसबारे आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको हो। बैठक दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ।
प्रतिपक्ष दलका नेता र सभामुख विना नै संवैधानिक परिषद्को निर्णय बहुमतबाट गर्न सक्ने गरी अध्यादेश ल्याएपछि कांग्रेसले यसको विरोध गरेको छ। यसबारे औपचारिक धारणा तय गर्न बैठक बोलाइएको कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए।
गत आइतबार आह्वान गरिएको परिषद बैठकमा नगएका सभापति देउवा हिजो बिहान बोलाइएको बैठकमा सहभागी भएपनि कोरम नपुगेपछि स्थगित भएको थियो। त्यसपछि अध्यादेश ल्याएर हिजै साँझ ५ बजे बसेको संवैधानिक परिषदको बैठकमा देउवा सहभागी भएनन्।
उपसभामुख पद खाली राखेर, सभामुखलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नु हास्यास्पद रहेको भन्दै देउवाले संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।








