
दाङ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुलसीपुरस्थित मालपोत कार्यालय प्रमुखसहित ४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्यालय प्रमुख मालपोत अधिकृत नरेशकुमार खड्कासहित ४ जनाविरुद्ध जनही बिगो ३ लाख २० हजार माग दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो।



कार्यालयका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइ दिन घुस मागेका थिए।
घूस मागेको सूचना पाएपछि गत मंसिर ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जको टोलीले गिरी र गैरेलाई सेवाग्राहीबाट ३ लाख २० हजार घुस रकम लिएको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको थियो।
त्यसपछि अनुसन्धानको क्रममा कार्यालय प्रमुख खड्का, मुद्दा फाँटका नासु केशवराज अधिकारी, मोठफाँटका नासु गिरी र कार्यालय सहयोगी गैरेको मिलेमतो भएको पाइएको थियो।
धनीपूर्जा उपलब्ध गराउने काम अगाढी बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काइ सेवाग्राहीको नियमानुसार निशुल्क गर्ने काम अड्काएर घुस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।









