
पुष १२ ,पाल्पा
पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो । बहुमत प्राप्त नेकपाका कारण देश संकटमा परेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यलयमा पुगेका राप्रपा नेता, कार्यकर्ताले न्यौपानेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका हुन् । देश अहिले समकालीन इतिहासको सर्वाधिक कठिन घडीबाट गुज्रिरहेकाले सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र पठाइएको राप्रपाले जनाएको छ ।राप्रपाका केन्द्रीय सदस्यहरु डुलबहादुर कुंवर,मिनबहादुर कूवर, जिल्ला अध्यक्ष रेवन्त बहादुर विष्टद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको विघटनपश्चात देश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा फसेको उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासीनताको विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राज संस्था पुनःस्थापनाको पक्षमा राप्रपा संघर्षमा जाने तयारीमा छ ।राप्रपाले सर्वाधिक कठिन घडीबाट यतिबेला मुलुक गुज्रिरहेको उल्लेख गर्दै कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली जनजीवनसँगै नेपालको अर्थतन्त्र पनि नराम्रोसँग प्रभावित भएको जनाएको छ । यसअघि उपरोक्त विषयमा सरकार गम्भीर बन्न र राप्रपाले उठाएका विषयलाई सम्बोधन गर्न प्रमुख जिल्लाअधिकारीमार्फत सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पेश गरेको राप्रापाका केन्द्रीय सदस्य डुलबहादुर कुंवरले बताउनुभयो ।
संविधानमा रहेको धर्मनिरपेक्षता खारेज तथा पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने्, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गुर्नुपर्ने, छिमेकी मित्रराष्ट्र भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरि नयाँ सन्धी गर्न तथा भारतसँगको खुलासिमा व्यवस्थित र नियमन गर्न राप्रपाले माग गरेको छ ।












