
पुस १३,बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले यही पुस १९ गते बृहत अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ ।
नेकपा रुपन्देही जिल्ला कार्यालयमा सोमबार बसेको बिस्तारित बैठकले पुस १९ गते बिहान ११ बजे पुष्पलाल स्मृती भवन बुटवलमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले जानकारी दिए ।



नेकपा जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले स्थानीय पालिका कमिटीहरुको बैठक यही पुस १४ गते दिउँसो २ बजे आयोजना गर्न पनी निर्देशन दिएको छ ।
त्यस्तै पुस १५ देखि १७ गतेसम्म वडाहरुमा रहेका सबै नेतृत्वको सहभागितामा वडास्तरीय बैठक बसी अगुवा भेलाको सूचना व्यवस्थित गर्न पनि निर्देशन दिएको छ । भेलालाई संबोधन गर्न वक्ताहरुको व्यवस्था मिलाउन इन्चार्ज मार्फत केन्द्रीय कमिटीलाई अनुरोध गर्ने बैठकले गरेको प्रवक्ता चापागाईले जानकारी दिए ।
बिस्तारित बैठकलाई संबोधन गर्दै केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज लिला गिरीले पार्टीलाई एकतावद्ध बनाइ राख्नका लागि अगुवा कार्यकर्ता भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अव पार्टी सुद्धृढीकरण अभियानमा लाग्नुपर्ने बताए ।
रुपन्देहीका सबै केन्द्रीय सदस्य सहभागी बैठकलाई नेकपा केन्द्रीय सदस्य एवं रुपन्देहीका सह–इन्चार्ज एकराज विश्वकर्मा लगायतले संबोधन गरेका थिए ।









