
पाल्पा १३ पुष ,
पाल्पाको बगनासकाली गाउँपालिकाले स्थानीय सञ्चीत कोष व्यवस्थापन तथा राजस्व सङ्कलन सम्बन्धी दुई दिने तालिम सोमबार सम्पन्न गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानीमा वृद्धि गर्ने र राजस्व दरको दायरा बढाउने उद्देश्यले पालिकाभित्रका नौ वटै वडाका सचिव र वडा सहायकलाई दुई चरणमा तालिम दिइएको आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज पौडेलले जानकारी दिनुभयो । तालिममा प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको भूमिका, दायित्व र अधिकारीका विषयमा सहजीकरण गर्नुभयो । आन्तरिक लेखा परीक्षण शाखा प्रमुख यादव न्यौपानेले लेखा परीक्षण र बेरुजु सम्बन्धी सहजीहरण गर्नुभएको थियो । यस्तैगरी आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज पौडेलले सञ्चीत कोष व्यवस्थापन, राजस्वको संवैधानिक एवम् कानूनी व्यवस्थाका र स्थानीय तहमा राजस्व संकलन सम्बन्धी प्रयोग हुने सफ्टवेयको विषयमा सहजीकरण गर्नुभएको गाउँपालिका स्रोतले जनाएको छ । गाउँपालिका लेखापाल देवीप्रसाद अर्यालको संयोजनमा चलेको तालिममा गाउँपालिकास्तरीय राजस्व संकलन परामर्श समितिका संयोजक सरस्वती चिदीले तालिमले पालिकाको आन्तरिक आम्दानी वृद्धी गर्न सहयोग गर्ने धारणा राख्नुभएको थियो । सोही अवसरमा तालिमको उद्देश्यमाथि बताउँदै आर्थिक प्रशासन शाखा प्रमुख कोशलराज पौडेलले पालिकाको वित्तीय प्रणालीमा प्रयोग हुने सफ्टवेयरमा हुने प्राविधिक त्रुटी कम गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो । तालिममा नौ वटै वडाका वडा सचिव, वडा सहायक र गाउँपालिकामा राजस्व संकलनमा संलग्न कर्मचारीको सहभागिता थियो ।












