
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको विरोध जनाउँदै आन्दोलनरत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबार देशैभर प्रदर्शन गर्ने भएको छ ।
मंगलबार बिहान ११ बजेदेखि देशैभर प्रदर्शन हुने नेकपाका नेताहरूले जनाएका छन् ।काठमाडौं उपत्यकामा विभिन्न ८ स्थानबाट जुलुस निस्कने अनेरास्ववियू प्रचण्ड–नेपाल समूहका संयोजक रञ्जित तामाङले जानकारी दिए ।



नेकपाले आजको प्रदर्शनमा काठमाडौंमा मात्रै एक लाख मानिस उतार्ने तयारी गरेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले यसअघि नै बताइसकेका छन् ।आजको प्रदर्शनका लागि उपत्यकाका आसपासका जिल्लाहरूमा गरिने प्रदर्शन पनि काठमाडौं नै केन्द्रित गरिएको छ ।
भृकुटीमण्डपमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।








