
कृष्ण पोखरेल
पाल्पा ।
संसद् विघटन असंवैधानिक कमद भएकोले संसद् पुनःस्थापना हुनुपर्ने माग गर्दै नेकपा पाल्पा दाहाल नेपाल पक्षले विरोध कार्यक्रम गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार नेकपा पाल्पा दाहाल नेपाल समूहले केपी ओली सरकार राष्ट्रघाती, जनविरोधी, भ्रष्टाचारी, भएकोले विघटित संसद पुनःस्थापना गरी वर्तमान सरकारलाई हटाउनुपर्ने आवाज उठाएका छन् ।
गाउँ–गाउँबाट आएका दाहाल नेपाल समूहका नेता तथा कार्यकर्ताहरुले ओली सरकारले गरेका असंवैधानिक कदमहरु फिर्ता हुनुपर्ने, केपी तिम्रो पाराले दुःख पाएर साराले, सूर्यै चिन्ह हाम्रो, दाहाल नेपाल पक्ष नै नेकपा आधाकारिक हो भन्दै नारा जुलुस गर्दै विरोध कार्यक्रममा सहभागी भए । तानसेनको टुँडिखेलबाट शुरु भएको विरोध र्याली लहरेपिपल, सिल्खानटोल, टक्सार, भगवतीटोल, शित्तलपाटी, मखनटोल हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि विरोध सभामा परिणत भएको थियो ।




विरोध कार्यक्रमलाई नेकपाका केन्द्रिय सदस्य सोमप्रसाद पाण्डे, तुलाराम घर्ती मगर, ठाकुर गैरेले सम्बोधन गरेका थिए । वक्ताहरुले केपी ओलीले चालेको निरङ्कुश असंवैधानिक संसद् विघटन फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए । वर्तमान सरकारले चुनाव पनि गराउन नसक्ने, चुनाव नौटंकी मात्र भएको, विदेशी दलालहरुसंग मिलेर ओली नै संविधान नै कु गरेको, राष्ट्रघाती काम गरेको, पार्टी फुटाएको, जनता माथि धोका दिएको, लोकतान्त्रिक गणतन्त्रका प्रमुख खलनायक केपी ओली भएको नेताहरुले आरोप लगाए ।
सरकारबाट जस्तोसुकै दमन भएपनि संसद पुनःस्थापना नभए सम्म आन्दोलन जारी रहने केन्द्रिय वक्ताहरुले बताए । संविधानको रक्षा गर्न, संविधानलाई सही बाटोमा हिडाउन एकमात्र विकल्प संसद् पुनःस्थापना भएको विरोध कार्यक्रममा सहभागी नेताहरुले बताए ।









