
काठमाडौं ।
नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदैछ।
८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।



२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मुलुकमा अस्थिरता सुरु भएको थियो। बीपीसहित विभिन्न नेताहरु ७ वर्ष जेल बसेर २०२५ सालमा भारत प्रवासमा जानु गएका थिए।
अस्थिरताका कारण मुलुकको अवस्था झनै कमजोर बन्दै गएपछि बीपीसहितका नेताहरु राजनीतिक दल तथा राजा मिलेर राष्ट्रिय एकता तथा मेलमिलाप गरी देशको विकास गर्ने भन्दै फर्किएका थिए। राष्ट्रिय मेलमिलापको नीति बोकेर बीपी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष कांग्रेसले यो दिवस मनाउँदै आएको छ।
दिवसको अवसरमा आज देशका ७७ वटै जिल्लामा कार्यक्रम आयोजना गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।








