
काठमाडौं ।
कोरोना भाइरसका कारण यस वर्षको शैक्षिक क्यालेण्डर लथालिङ्ग बनेको छ ।
गत चैतमा लकडाउन गरेदेखि बन्द भएका शैक्षिक संस्थाहरू अझै खुलिसकेका छैनन् । जसका कारण देशका करिब ९० लाख विद्यार्थीको शैक्षिक सत्र नै खेर जाने हो कि भन्ने आशंका पनि बढेको छ । तर शिक्षा मन्त्रालयले भने चालु शैक्षिक सत्रलाई जेठमा सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने प्रस्ताव गरेको छ ।



चालु शैक्षिक सत्र कहिले अन्त्य गर्ने अनिश्चित भइरहेको अवस्थामा शिक्षा मन्त्रालयले यो वर्षको शैक्षिकसत्र जेठमा सक्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । शिक्षा मन्त्रालयले शैक्षिकसत्र व्यवस्थापन र परीक्षाको विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको हो ।
शिक्षक, प्रदेश, स्थानीय सरकार र सम्पूर्ण सरोकारवाला सबैको राय सुझाव लिएर पेस गरिएको प्रस्तावमा ७८ सालको असारबाट शैक्षिकसत्र सुरु गर्ने योजना छ । सामान्यतयः वैशाखबाट सुरु गरिने शैक्षिक सत्र २०७८ सालको असारबाट शुरु गर्ने र सो शैक्षिक सत्रलाई १० महिनामा सीमित गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव छ । शैक्षिक सत्रलाई पुरानै लयमा फर्काउन दुई–तीन वर्ष लाग्ने मन्त्रालयको भनाइ छ ।
गत वर्षको माध्यामिक शिक्षा परीक्षाको जिम्मा विद्यालयललाई दिदाँ विद्यालयहरूले लापरवाही गरेकाले मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड मार्फत नै कक्षा ९ र रजिष्ट्रेसन फाराम तथा एसईईको आवेदन फारम खुलाएको छ । यद्यपि एसईई परीक्षा सञ्चालनको जिम्मा कसलाई दिने भन्नेमा अझै निर्णय भईसकेको छैन ।








