
भैरहवा ।
नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा पम्प सेड सञ्चालनमा ल्याइएको छ ।
रूपन्देहीको भलबारीस्थित निगमको कार्यालयमा पेट्रोलियम पदार्थको लोडअनलोड गर्न उपलब्ध पूर्वाधार पुराना र साँघुरा भएकाले नयाँ प्रविधिसहितको भौतिक संरचना बनाएको निगमले जनाएको छ । लोडअनलोड गर्दा समस्या भएपछि निगमले आधुनिक प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुरूप क्षमता बढाएर व्यवस्थित बनाएको निगमका प्रादेशिक कार्यालय भलबारी प्रमुख प्रलयंकर आचार्यले बताए । एपीआई मापदण्डअनुसार पाइपलाइन जडान, भल्भ, पम्प जडानका साथै ट्यांकर लोड गर्न अत्याधुनिक लोडिङ आम्स जडान गरिएको हो ।



१ करोड ५० लाख रुपैयाँ लागतमा पेट्रोलियम पदार्थको लोडअनलोड गर्न अन्तर्राष्ट्रिय मापदण्डको ४ बाय लोडिङअनलोडिङ सेड निर्माण गरेको हो । यो पूर्वाधार बन्नुअघि दैनिक ३ देखि ४ लाख लिटर पेट्रोलियम पदार्थ मात्र लोडअनलोड गर्न सकिनेमा अब ८ घण्टामा १० लाख लिटर लोड अनलोड गर्न सकिने भएको छ ।

यस्तै २ करोड २५ लाख लागतमा पार्किङ यार्ड निर्माण गरिएको छ । धुलाम्मे रहेको पार्किङ यार्ड पक्की गरिएको हो । अब एकै पटकमा १ सय ट्यांकरसम्म पार्किङ गर्न सकिनेछ । यसअघि ५० वटा ट्यांकर मात्रै पार्किङ गर्न मिल्थ्यो । २६ लाख रुपैयाँ लागतमा विद्युतीय प्यानल भवनसमेत तयार भएको छ । विद्युत्लाई नियमित गर्न र यहाँबाट विद्युत् कन्ट्रोल हुनेछ ।
१ करोड रुपैयाँ लागतमा ७०÷७० किलोलिटर क्षमताका १ सय ४० किलोलिटर अट्ने दुई वटा मटितेल भण्डारण ट्यांकी निर्माण गरिएको छ । क्षमता वृद्धि गरी तीन दिनलाई पुग्ने मटितेल भण्डार हुने गरी ट्यांकी बनाइएको हो ।यसअघि एक दिनलाई पुग्ने मात्रै मटितेल भण्डार गर्न सकिन्थ्यो । निगमले ४५ लाखमा क्याप्सिटेन्स अर्थिङ निर्माण गरेको छ ।
८० लाखमा दमकल र फायर इन्जिन पनि खरिद गरेको प्रादेशिक कार्यालय भलबारीका प्रमुख आचार्यले जानकारी दिए ।









