
पुस २१,पोखरा ।
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो ।
विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान छ ।



मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सुविधाजनक बहुमतमा रहेकाले सरकार फेरबदलको विषयमा भने विशेष अधिवेशनमा कुरा नउठ्ने अनुमान छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनसरोकारका विषयमा छलफल आवश्यक रहेकाले विशेष अधिवेशन माग गरिएको बताए ।
संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थामा टेकेर नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए ।
प्रदेश प्रमुख अमिक शेरचनले यही पुस २१ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेका हुन् ।








