
पुस २१,चितवन ।
पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ ।
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे सङ्क्रान्तिमा ३६ घण्टाको अवधिमा पाँच लाख तीर्थालु भक्तजन मेला भर्न आउने गरेको विगतको तथ्याङ्क छ ।



कार्यकारी निर्देशक घिमिरेले स्नान घरमानै गरेर यस वर्ष माघेसङ्क्रान्ति मनाउन अनुरोध गरिएको जानकारी दिए । उनले भने, “बेनीमा स्नान मात्र गर्न आउनेलाई भने हामी रोक्दैनौं ।” स्वास्थ्य सतर्कता अपनाएर स्नान गर्न अनुरोध गरिएकोे उनको भनाइ छ ।
देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा दुई दिनअघि देखिनै आएर मेला भर्ने प्रचलन रहेकोे छ । छिमेकी मुलुक भारत र नेपालभरिबाट भक्तजन यहाँ आउने गर्छन् ।








