
काठमाडौं ।
पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ। पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मासअनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ।
भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। पुस १५ देखि अगामी माघ २९ सम्म सौर र चान्द्र दुवै गणना पद्धति अनुसार पुस महिना परेको छ।



पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर र खिचडी लगायत प्रसादका रुपमा चढाउने परम्परा छ। यस पूजामा पशुपतिनाथका मूलभट्ट र पशुपतिनाथ अमालकोट कचहरीका द्वारे लगायत सहभागी हुनुपर्ने विधि छ।
शनिबार बिहानदेखि आइतबार बिहानीपखसम्म धनुर्मास पूजा गरेपछि आइतबार दिनभर मूल मन्दिर भक्तजनका लागि बन्द गरिने कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए।
आइतबार बिहान ६ बजेदेखि शिवपार्वती पनि घाम ताप्न जाने विश्वासमा मन्दिर बन्द गर्ने गरिएको हो।








