
पुस २६, बुटवल ।
ट्याक्टर व्यवसायीहरुले आफूहरुका समस्या राज्यले संबोधन नगरेको गुनासो गरेका छन् । लुम्बिनी टेक्टर समिति तिलोत्तमा –२ रुपन्देहीको आइतबार आयोजित १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनमा बोल्ने व्यवसायीहरुले यस्तो बताएका हुन् ।
यस क्षेत्रका ट्रेक्टर व्यवसायीले राज्यलाई करोडौं रुपियाँ करबापत भुक्तानी गरेकोर ३० हजार घर परिवारलाई रोजगारीको व्यवस्था गरेको भन्दै उनीहरुले यति ठूलो दायित्व ट्रेक्टर व्यवसायीले निर्वाह गरेपनि राज्यबाट आफूहरुका समस्या संबोधन हुन नसकेको बताएका हुन् । ओभरलोड, भभरलोड, पानी चुहिने, असफल ब्याक लाईट जडान जस्ता कारण देखाई दण्ड जरिवाना गर्ने काम रोकिनुपर्ने उनीहरुको माग छ ।



व्यवसायीहरुले कृषि कार्यमा प्रयोग हुने इन्धन सर्वशुलभ दरमा उपलव्ध हुनुपर्ने, ट्रेक्टरको क्षमता अनुसार भारवहन क्षमता हुनुपर्ने, ट्रेक्टरहरुमा प्रदान गरिने बैंक क्रृणको ब्याज न्यून हुनुपर्ने तथा बैंक कर्जा चुक्ता हुनासाथ ट्रेक्टर तुरुन्तै नामसारी हुनुपर्ने, ट्रेक्टरहरुबाट निर्वाधरुपमा ढुवानी गर्न पाउनुपर्ने माग पनि गरेका छन् ।
साधारण सभाको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले ट्रेक्टर व्यवसायीका समस्या समाधानमा स्थानीय सरकार गम्भीर रहेको भन्दै कृषि कार्यका लागि प्रयोग हुने ट्रेक्टरको प्रयोगले उत्पादन बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेपाल ट्रेक्टर महासंघका पुर्व केन्द्रीय अध्यक्ष प्रदिपकुमार उदयले कृषि कार्यका लागि प्रयोग हुने ट्रेक्टर मुलुकको विकासको मेरुदण्ड रहेको भन्दै व्यवसायीका समस्यालाई तत्काल संबोधन गर्न सरकारसँग माग गरे ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी ट्रेक्टर समितिका अध्यक्ष खेम गौतमले यस क्षेत्रमा १२ हजार ट्रेक्टर रहेपनि ३०५ वटा मात्र समितिमा आवद्ध रहेको भन्दै बढी भन्दा बढी ट्रेक्टरलाई समितिमा ल्याउने प्रयास भैरहेको बताए ।
उनले ट्रेक्टर दर्ता तथा नवीकरणलाई क्षेत्रीय भेलाको माध्यमबाट वृद्धि गर्दै लैजाने, दुर्घटना क्षतिपूर्तिको व्यवस्था गरिने, व्यवसायी तथा चालकहरुलाई तालिम प्रदान गरिने बताए ।









