
काठमाण्डौ ।
आज माघे सङ्क्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।
आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । थारु, मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।




थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । तराईका जिल्लामा माघे सङ्क्रान्तिलाई तिला सङ्क्रान्तिको रुपमा मनाउने गरिन्छ ।
आजको दिन स्नान, जप, तप, ध्यान साधना, दान गरे पुण्य पाइने धार्मिक मान्यता छ । आजको दिन घिउ, चाकु, तरुल, सखरखण्ड एवम् खिचडी खाने गरिन्छ ।
तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यस्तै, केही ठाउँमा सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने चलन छ ।
आज शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ विश्वास पनि गरिन्छ ।शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए ।

आजबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटो हुँदै जाने छ । अब बिस्तारै दिन लामो हुँदै जाने छ ।
माघ महीनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवादअर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ ।
यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष अधिकमास (मलमास) कारण पौष शुक्ल पूर्णिमा केही दिनपछि परेको छ ।








