
पाल्पा ।
नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का केन्द्रीय सह–संयोजक रञ्जित तामाङले प्रतिगामी तत्वका विरुद्धमा जुट्न पाल्पाली विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
शनिबार अनेरास्ववियु प्रचण्ड–नेपाल समूह पाल्पाले आयोजना गरेको विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संह–संयोजक तामाङले पछिल्लो समय प्रतिगामी मतियारहरुका कारण मुलुक संकटमा परेकाले उनीहरुलाई गलत्याएर सडकमा ल्याउन अब विद्यार्थी संगठनहरु एक जुट भएर अगाडि बढ्न आग्रह गरेका हुन् ।

सरकारले शैक्षिक क्षेत्रको दीर्घकालीन योजना बनाउन नसकेका कारण नेपालका विश्वविद्यालयहरुबाट संयौंको संख्यामा शैक्षिक बेरोजगार उत्पादन भइरहेको सह–संयोजक तामाङले बताए ।



कार्यक्रममा नेकपाका जिल्ला सचिव राजेन्द्र विक,अनेरास्ववियूका केन्द्रीय सदस्यहरु दीपक देवकोटा, विक्रम राना, नारायण खनाल, नेकपाका जिल्ला सदस्य मोहन गैरे, नेकपा तानसेन नगरका सह–इञ्चार्ज प्रतिक्षा सिंजाली लगायतले मुलुक परिवर्तनका लागि विद्यार्थी संगठनहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
कार्यक्रम अनेरास्ववियूका जिल्ला संयोजक पदम सोमैको अध्यक्षता, जिल्ला सदस्य अनिता बस्यालको स्वागत, सीता रास्कोटीको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा सयौं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।









