
काठमाडौं ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ। संवैधानिक इजलासमा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथि नियमित सुनुवाइ हुन लागेको हो।
हिजो रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताएका थिए। अधिवक्ता डा भीमार्जुन आचार्यले वर्तमान संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख नगरिएको जिकिर गरे।



गत पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो।
शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि हिजोदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुरु भएको हो।








