
काठमाडौं।
पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा चार सय ४१ जना कोरोनामुक्त भएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख ६२ हजार दुई सय ५९ पुगेको छ । अब नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार सात सय ६४ रहेको छ ।



यस्तै थप चार कोरोना सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ६९ पुगेको छ ।
कोरोना भाइरसविरुद्ध खोप पर्सि नेपाल ल्याइने

कोरोना भाइरसविरुद्ध खोप पर्सि बिहीबार नेपाल ल्याइने भएको छ। शुक्रबार आपतकालीन अनुमति पाएको भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप हो यो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक लाख डोज खोप भारतले अनुदानस्वरूप दिन थालेको हो।
’आएपछि हामीलाई हस्तान्तरण भएको एक हप्तामा हामीले लगाइसक्छौं,’ मन्त्रालय स्रोतले भन्यो। एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारले बताएको छ।
नेपालमा कोरोनाको पहिलो केस गत माघ ९ गते देखिएको थियो। संयोगवश नेपालमा कोरोना संक्रमण देखिएको एक वर्ष पुग्न एक दिनअघि खोप भित्रिन लागेको हो।








