
बुटवल ।
तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैंयाँ प्राप्त गरेका छन् ।
अनुदानलाई साना किसानसम्म पुर्याउन एक आर्थिक वर्षमा सहकारीमार्फत् विक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध ३ हजार २ सय ५५ जना किसानले अनुदान रकम प्राप्त गरेका छन् ।



दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत् किसानले प्राप्त गर्नेछन् । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरुप झण्डै ३७ लाख रुपैंयाँ किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुनेभएकोले नगरपालिकाले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरील बताउनुभयो ।
यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं. १४ स्थित गौतमबुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख २६ हजार ८५२ रुपैंयाँ प्राप्त गरेको छ । यस्तै वडा नं. १४ कैं टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४ रुपैंयाँ, वडा नं. १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५२७ रुपैंयाँ, वडा नं. ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५५७ रुपैंयाँ प्राप्त गरेको छ ।
गत वर्षको तुलनामा यो वर्ष दुग्ध उत्पादन बढ्दा किसानले झण्डै आठ लाख रुपैंयाँ बढी अनुदान रकम प्राप्त गरेका छन् । दुधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दुध सहकारीमार्फत् विक्री वितरण हुने भएको छ ।









