
काठमाडौँ ।
विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेका छन् ।
मूलपानी क्रिकेट मैदानमा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दा अर्को खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकालेको हो । आर्मीले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सम्पन्न सबै तीन खेलमा प्रदेश–१ ले नतिजा सुम्पिएको छ । पुलिसले जारी प्रतियोगितामा पहिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले लगातार दुई खेलमा नै पराजय भोगेको छ ।



टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश–१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्दा आर्मीको जारी प्रतियोगितामा लगातार तेस्रो जित निक्लिएको हो । यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश १ ले ४०.१ ओरभमा सबै विकेट गुमाएर मत्र १ सय ३१ रन जोड्न सक्यो ।
समूह ‘ए’ को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ ।
अर्को खेलमा पुलिसलाई पहिलो जिताउनका लागि सुनिल धमला र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । धमलाले ५३ रन जोड्दा कुशल भूर्तेल ५१ रन नटआउट रहे । सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको हो । पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए ।अमित श्रेष्ठ १ रनमा अविजित रहे । सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३.१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन जोडेको थियो । दुई खेलबाट पहिलो जित निकालेको पुलिसको २ खेलमा तालिकामा २ अंक भएको छ ।
प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबले लम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्दा मूलपानी मैदानमा एपीएफ क्लबले गण्डकी प्रदेशसँग खेल्ने छ ।








