
बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने चेतावनी दिनु भयो । सरकारको संसद विघटनको कदम असंबैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै अध्यक्ष केसीले यो कदम नसचिए २०६२/६३को आन्दोलनका उपलब्धी गुम्ने खतरा बढेको दावि गर्नु भयो ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले विहिवार बुटवलमा आयोजित प्रतिनिधी सभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न विषयक अन्र्तक्रियामा वोल्दै उहाँले सत्तासिन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताउनुभयो ।ओली र प्रचण्डको स्वार्थ पुरा नहुंदा देश दुर्घटनातर्फ उन्मुख भएको समेत उहाँले बताउनुभयो ।



अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन मुलुक र जनताको हित विपरित भएको उल्लेख गर्दै उनीहरु जनताका लागि नभई सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बांडफांड नमिलेका कारण विभाजित भएको बताउनुभयो ।
अध्यक्ष केसीले गणतन्त्रमाथी ३ वटा शक्तिवाट खतरा बढेको भन्दै पहिलो राजावादी , दोस्रो विदेशी हिन्दु अतिवादी र तेस्रो वामपन्थी संकिर्णवादी शक्तिवाट हमला भएको समेत खुलासा गर्नु भयो ।
संघीयता असफल सिद्ध भैसकेको बताउंदै हिजो संघीयता ल्याउन मरीहत्ते गर्नेहरु आज लाज लागेर बर्कोले मुख ढाकेर हिड्न थालेको उहाँले टिप्पणी गर्नु भयो ।









