
पाल्पा ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कालापानी र लिपुलेक समेटेको देशको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित गराएपछि पार्टीभित्र समस्या उत्पन्न भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाबी गरेका छन्। पाल्पाको तानसेन नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओली राष्ट्रवादी कार्यले लोकप्रिय हुने डरले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड षड्यन्त्रमा उत्रिएको आरोप उनले लगाए। प्रचण्ड र माधव नेपालले पार्टी र राज्य सत्ता कब्जा गर्ने षड्यन्त्र गर्नुभएको थियो। तर, उक्त षड्यन्त्रको भर्याङलाई प्रधानमन्त्री ओलीले भत्काइदिएपछि अहिले उनीहरुको दाँतबाट पसिना निक्लिरहेका छन्ु उनले भने।



प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई घेराबन्दीमा पारिएको कुरा नेपाली जनताले थाहा पाउने दाबी गरे। ओली नेतृत्वको सरकारले गरेका काम जनताका बीचमा जान थालेकाले अब जनताले ओलीलाई घेराबन्दीमा पारिएको सत्य कुरा थाहा पाउने उनले जिकिर गरे।









