
काठमाडौं ।
भारतले अनुदानमा दिएको कोभिड– १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप सरकारले आजदेखि क्षेत्रीय मेडिकल स्टोरमा पठाउने भएको छ। त्यहाँबाट जिल्लाहरूमा वितरण हुनेछ ।
खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको स्वास्थ्स्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ। उनीहरूको संख्या दुई लाख २५ हजार सात सय ८२ छ।



बाँकी सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी छन्। माघ १४ गतेबाट ७७ वटै जिल्लामा एकसाथ खोप अभियान शुरु गरिने मन्त्रालयले जनाएको छ।
खोप लगाउन कसैलाई बाध्य भने पारिने छैन। महाअभियान भएकाले कोभिड संक्रमित भई निको भएका र नभएका सबैले स्वेच्छाले खोप लगाउन सक्नेछन्। अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका दश लाख डोज भारतले अनुदानमा दिएको छ।
एक व्यक्तिले दुई डोज खोप लगाउनुपर्छ । पहिलो खोप लिएको २८ दिनपछि मात्रै दोस्रो डोज लगाइनेछ ।
महामारी नियन्त्रणमा फ्रन्टलाइनमा खटिएकाको संख्याका आधारमा ती खोप विराटनगर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ।








