
माघ ११,पाल्पा



सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले पाल्पा जिल्लाको सबै पालिकाहरुमा चौथो पुस्ताको मोबाइल प्रविधि फोरजी सेवा पु्र्याएको छ । नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाका प्रमुख ढाकाराम पौड्याल पाल्पाको सबै स्थानिय तहमा उपकरण जडान कार्य सम्पन्न भई सेवा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो ।
फोरजी कभरेज नभएका केही नयाँ स्थानमा पनि फोरजी विस्तारका लागि सर्भे तथा जडानको काम भइरहेको नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाका इन्जिनियर बिशाल भण्डारीले बताउनुभयो ।फोरजी नेटवर्क कभरेज संगै जिल्लाको समग्र स्थानिय तहमा प्राविधिक विकासमा मद्धत पुग्ने विश्वास लिइएकोे छ । यसले सबै स्थानिय तहको शिक्षा, स्वास्थ्य, कृर्षि लगाएतका क्षेत्रमा ठुलो योगदान गर्नेछ।ग्राहकले *444# डायल गरि आफ्नो सिमले फोरजी सपोर्ट गर्छ,गर्दैन चेक गर्न सक्नेछन् । सिमले फोरजी सपोर्ट गरेमा ५०० एमबी निशुल्क डेटा प्राप्त गर्नेछन् भने सपोर्ट नगरेमा नजिकैको टेलिकम कार्यालयमा गई निशुल्क फोरजी सिम लिन सक्नेछन् । विद्यार्थीहरुका लागि भने टेलिकमले निःशुल्क रुपमा नयाँ फोरजी सिम उपलब्ध गराईरहेको नेपाल टेलिकम पाल्पाका सुचना अधिकारी श्रीराम रेग्मीले जानकारी दिनुभयो ।
हाल फोरजी इन्टरनेट सेवा स्टे कनेक्टेड प्याक अन्तर्गत १०० रुपैयाँमा ४ जिबी र २०० रुपैयाँमा १० जिबी डेटा उपलब्ध गराइरहेको टेलिकमले जनाएको छ । यस्तै फोरजी प्याकमा खरिद गरिएको डेटा बराबर नै बोनस डेटा उपलब्ध गराइएको छ । फोरजी इन्टरनेट सेवा सञ्चालन गरेसंगै भ्वाइस ओभर एलटीई सेवा समेत सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । उक्त सेवा सञ्चालनमा आएसँगै टेलिकमको भ्वाइस कल समेत एचडी क्वालिटीमा इन्टरनेबाटै गर्न सकिनेछ ।









